
पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। गुल्मी मुसिकोट घर भई ललितपुरमा बस्दै आएकी ३२ वर्षीया लिला पछाईलाई सहकारीको रकम गैरकानुनी रूपमा आफ्नो खातामा स्थानान्तरण गरेको आरोपमा पक्राउ गरिएको हो, कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी स्रोतका अनुसार लिला गितेन्द्र बाबु राई (जीबी राई) को कम्पनीमा सामान्य कर्मचारी थिइन्। तर, उनको खातामा सहकारीबाट ३ करोड रुपैयाँ स्थानान्तरण भएको देखिएपछि उनलाई बयानका लागि पोखरा बोलाइएको थियो।
सहकारीको रकम जिबी राईसँगको मिलेमतोमा गैरकानुनी रूपमा बैंक खातामा लगेपछि सोमबार लिलालाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताए। ‘सामान्य कर्मचारीको खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि अनुसन्धानका लागि उनलाई पोखरा बोलाएका थियौं। जिबीसँग मिलेर रकम अपचलन गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो,’ प्रहरी अधिकारीले भने।
लिलालाई कास्की जिल्ला अदालतले चार दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानको क्रममा उनी जिबी राईकी प्रेमिका भएको पनि खुलेको छ। प्रहरीले लिलाको नाममा पोखरामा दुई वटा घरसमेत रहेको पत्ता लगाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले गत वर्षको असोज १८ गते जिबी राईसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलनको मुद्दा दर्ता गरेको थियो। पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार पारेको प्रतिवेदनमा सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरिएको थियो।
Leave a Reply